तारा खेती

म सिलिङ हेर्दै
टोलाइरहन्छु ।
सोच्छु — यहाँ खनजोत गरेर
एउटा जुन र गोडा चारेक लाख
तारा रोप्न पाए ।
तिनै तारा गन्दै,
तिम्रो यादमा रात बुत्याउन
क्या गज्जब हुन्थ्यो ।

अचेल आकाश हेर्दै तारा गन्न,
खासै स्वाद छैन ।
गन्दा गन्दा लागेका औलाका थुकले —
लफ्रक्कै भिजिसके ताराहरु
भिजेका ताराहरुमा —
खासै खुल्दैनन् प्याराहरु ।

यो जुठो र चिसो तारामण्डलमा
तिम्रो यादको घडेरी जोड्न —
फिटिक्कै मन छैन प्रीए ।
बरु यहि सिलिङमा
ताराका ब्याड राखम्
उमारौं, रोपौं, फुलाम् ।

अनि च्याट्ट सिरक ओडम्
सिलिङ हेरम् , गनम् —
दुइसे छपन्न — दुइसे सन्ताउन्न ।

अनि याद —
टुपि तानेर टाप कसोस् ।
निन्द्रा छेउमै बसोस् —
र भनोस् —
नाटकै बढि । सुत् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *